- कर्णाली फ्याक्ट चेक
- असार १९, २०८१
काठमाडौँ महानगरका सामुदायिक विद्यालयको एसईई नतिजाबारे मिडियामा भ्रामक दावी
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयहरुको एसईई नतिजा २५९ प्रतिशतले सुधार भएको भन्दै मिडियामा समाचार र सोसल मिडियामा चर्चा भएका छन्।
तर, हाम्रो तथ्य जाँचले भने यो दावी भ्रामक देखिएको छ। २५९ प्रतिशतले सुधार महानगरका सामुदायिक विद्यालयहरुको समग्र नतिजामा भएको होइन।
के छ दावी ?
‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिकले २o८१ असार १८ गते मंगलबारको पत्रिका र आफ्नो आधिकारिक अनलाइन नयाँपत्रिकाडेली डट कममा ‘काठमाडौं महानगरका सामुदायिक विद्यालयको एसइई नतिजा २५९% ले सुधार’ शीर्षकमा समाचार राखेको छ।
समाचारको लिडलाइनमा लेखिएको छ- ‘काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयले एसइई परीक्षाको नतिजामा व्यापक सुधार गरेका छन् । अघिल्लो वर्ष (०७९) को तुलनामा यस वर्ष (०८०) २५९ प्रतिशतले नतिजामा सुधार आएको महानगरले जनाएको छ।’
पहिले ट्विटरका नामले चिनिने एक्समा @thenepalitruth ह्यान्डलबाट ‘बालेनले आफू आएकै २ वर्ष भित्रमा महानगरको सरकारी विद्यालय शिक्षामा वास्तविक र गरिनुपर्ने क्रान्ति गरेको’ दावी गर्दै ट्विट गरेका छन्। बुधबार दिउँसोसम्म ५२ पटक यसलाई रिट्विट गरिएको छ।
हेर्नुस् स्क्रिनसट
त्यसैगरी नयाँ पत्रिकाको फेसबुक पेजमा पनि यो समाचार पोस्ट गरिएको छ जसमा बुधबार दिउँसोसम्म २२७ रियाक्सन, ११ सेयर र ९ कमेन्ट छन्।
हेर्नुस् स्क्रिनसट
के हो तथ्य ?
यस विषयको तथ्य जाँचका लागि हामीले काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट मेट्रोन्युज हेर्यौँ। त्यसमा १८ असार २०८१, सोमबारको मितिमा एउटा समाचार राखिएको छ जसमा लेखिएको छ- “काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुबाट २०८० सालको एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७%) विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । गएको बर्ष १५० जना (३.८३%) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको बर्षभन्दा यसमा बर्ष २५९% सुधार आएको छ। “
काठमाडौँ महानगरपालिकाको वेबसाइटमा राखिएको आधिकारिक तथ्याङ्क अनुसार २५९ प्रतिशत सुधार भनेको उच्चतम जिपिए (३.६१-४.०) प्राप्त गर्ने विद्यार्थीहरूको संख्यामा भएको वृद्धि हो। यो काठमाडौँ महानगरका सामुदायिक विद्यालयको समग्र एसइई नतिजाको सुधार होइन।
जबकि नयाँ पत्रिकाको समाचारको शीर्षक ‘काठमाडौं महानगरका सामुदायिक विद्यालयको एसइई नतिजा २५९% ले सुधार’ र लिडलाइनले यो सुधार उच्चतम जिपिए (३.६१-४.०) प्राप्त गर्ने विद्यार्थीहरूको मात्र हो भन्ने कतै उल्लेख गरेको छैन।
उच्च जिपिए प्राप्त गर्नेहरूको संख्या बढ्नु राम्रो त हो, तर यसले सबै विद्यार्थीहरूको प्रदर्शन भने देखाउँदैन। किनभने अन्य जिपिए श्रेणीहरूमा भएका परिवर्तनहरू पनि महत्त्वपूर्ण हुन्छन्।
समग्र उत्तीर्ण दर, औसत जिपिए, वा अन्य महत्त्वपूर्ण मेट्रिक्सहरू उल्लेख गरिएको छैन। यी तथ्यांकहरूले नतिजाको अधिक सन्तुलित चित्रण दिन सक्थे। एउटा विशिष्ट श्रेणीको सुधारलाई समग्र नतिजाको सुधारको रूपमा प्रस्तुत गर्नु गलत सामन्यीकरण गर्नु हो।
तथ्य जाँच
दावी : काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयहरुको एसईई नतिजा गत वर्षभन्दा यस वर्ष २५९ प्रतिशतले सुधार भएको।
दावीकर्ता : नयाँ पत्रिका राष्ट्रिय दैनिक
तथ्य : भ्रामक सूचना। यो शीर्षक र दावी भ्रामक छ किनकि यसले एउटा विशिष्ट सुधार उच्चतम जिपिए (३.६१-४.०) लाई समग्र एसइई नतिजाको रूपमा गलत ढंगले प्रस्तुत गर्छ। यसले पाठकहरूलाई सम्पूर्ण विद्यार्थी प्रदर्शनको यथार्थ चित्रण दिँदैन।