- सागर बुढाथोकी
- पुस १०, २०८१
काठमाडौँमा ‘टेस्ला फोन’ सार्वजनिक हुने? अहँ, यो भाइरल दावी साँचो होइन
यही डिसेम्बरमा निशुल्क चार्जिङ र इन्टरनेट भएको टेस्ला फोन काठमाण्डौँमा सार्वजानिक गरिने दावी गरिएको पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।
तर, यो दावी मिथ्या रहेको हाम्रो तथ्यजाँचले ठहर गरेको छ। टेस्ला कम्पनीले हालसम्म स्मार्टफोन बनाउने घोषणा गरेको छैन।
के छ दावी ?
४५ सय फलोअर्स रहेको नागरिक सञ्चार नामक फेसबुक पेजले डिसेम्बर ११ मा एलोन मस्कको फोटोमा फोन जस्तै देखिने ग्राफिक्ससहित एउटा पोस्ट गरेको छ जसमा अंग्रेजी भाषामा यही डिसेम्बरमा करिब ४० हजार नेपाली रुपैयाँ मूल्य पर्ने, नि:शुल्क चार्ज र इन्टरनेट भएको टेस्ला फोन काठमाडौँमा सार्वजनिक गरिने उल्लेख छ।
हेर्नुस्, स्क्रिनसट।
हेर्नुस्, अर्काइभ लिंक
यो तथ्यजाँच गर्दासम्म यो पोस्टमा ११ हजार रियाक्सन, ६५४ कमेन्ट र १६१ पटक सेयर गरिएको छ।
त्यस्तै, डिसेम्बर ९ मा २७ हजार फलोअर्स रहेको ‘नेपाली खबर अपडेट‘ नामक फेसबुक पेजले सोही क्याप्सनसहितको एउटा पोस्ट गरेको छ।
यो तथ्यजाँच गर्दासम्म पोस्टमा १८ सय रियाक्सन, ८४ वटा कमेन्ट र ३६ पटक सेयर गरिएको छ।
हेर्नुस्, स्क्रिनसट
हेर्नुस्, अर्काइभ लिंक
तथ्य के हो ?
यही डिसेम्बरमा निःशुल्क चार्ज र इन्टरनेट भएको टेस्ला फोन काठमाडौँमा सार्वजनिक गरिने हो त ?
यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले टेस्लाको आधिकारिक वेबसाइट, टेस्लाको सिइओ एलन मस्कको एक्स ह्याण्डल र विभिन्न आधिकारिक समाचार पोर्टलमा खोज्यौँ।
तर यो विषयमा कुनै पनि आधिकारिक तथ्य फेला परेनन्।
यो विषयमा थप बुझ्न गुगलमा ‘एलन मस्क टेस्ला फोन’ कीवर्ड राखेर सर्च गर्यौँ।
सो क्रममा एलन मस्कसँग सम्बन्धित उत्पादनहरुको सामाग्री प्रकाशित गर्ने टेस्लाराटी डटकम नामक वेबसाइटमा प्रकाशित Tesla Phone rumors clarified by CEO Elon Musk शीर्षकको समाचारमा पुग्यौँ।
हेर्नुस्, स्क्रिनसट
उक्त समाचार अनुसार, मस्कले गत नोभेम्बर ५ (कार्तिक २० गते) मा जोय रोगनसँग कुराकानी गर्दै टेस्लाले फोन बनाउन लागेको कुरा ‘र्युमर्स’ अथवा हल्ला भएको बताएका छन्।
जोय रोगनको अन्तर्वातालाई उदृत गर्दै मस्कले ‘सायद टेस्ला विश्वको कुनै पनि कम्पनीभन्दा नयाँ फोन बनाउनको लागि राम्रो स्थितिमा भएतापनि अहिले आफूले फोन बनाउन नचाहेको’ भनेको समाचारमा उल्लेख छ।
टेस्ला फोनकै बारेमा दावी गरिएको अर्को पोस्टको नेपालफ्याक्टचेकले तथ्यजाँच गरिसकेको छ।
जोय रोगन र मस्कको पुरा कुराकानी यहाँ क्लिक गरेर सुन्न सकिन्छ।
जोय रोगनको प्रश्नमा मस्कले ‘… यदि एप्पल र गूगल/एन्ड्रोइडले खराब तरिकाले एप्लिकेसनको सेन्सरसिप र गेटकिपर जस्तो खराब काम गर्न थाले भने, सायद त्यो बेला म फोन बनाउनेछु’ भनेका छन्।
टेस्ला फोनको बारेमा गरिएका विभिन्न तथ्यजाँच संस्थाहरुले गरेका तथ्यजाँचहरु यहाँ, यहाँ, यहाँ र यहाँ हेर्न सकिन्छ।
तथ्यजाँच
दावी : यही डिसेम्बरमा निःशुल्क चार्जिङ र इन्टरनेट भएको टेस्ला फोन काठमाडौँमा सार्वजनिक गरिने।
दावीकर्ता : नागरिक सञ्चार नामक फेसबुक पेज।
तथ्यजाँच : मिथ्या सूचना। टेस्ला कम्पनीले फोन सार्वजनिक गर्ने विषयमा विभिन्न समाचारहरु आएपछि यो विषयमा कम्पनीका सिइओ एलन मस्कले हल्ला मात्र भएको बताइसकेका छन्। त्यसैले नागरिक सञ्चारले गरेको दावी मिथ्या हो।